काठमाडौं । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा दुई दिनसम्म चलेको मेलामा ५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको आयोजनामा आयोजित मेलामा सरकारी, गैरसरकारी तथा निजीक्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो ।
मेलालाई होटल संघ नेपाल (हान) ले संयोजन गरेको थियो । भने सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सरोकारवाला संस्थाहरू रहेका छन् ।
मेलामा विभिन्न खालका ४२ वटा स्टलहरू राखिएका थिए । मेलाबाट रोजगारीका लागि ५ सयभन्दा बढीले आवेदन फारम भरेका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका विभिन्न खालका स्टलहरू रहेका थिए ।
मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेला भव्यताका साथ सम्पन्न भएको बताए । मेलामा रोजगारी दिने र रोजगारी खोज्नेहरूबीच पुलको काम गरेको र मेलाको उद्देश्य पूरा भएको बताए ।