काठमाडौं । लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी सजाय निर्धारण भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय तोकेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते मुद्दा दायर गरेको थियो । अदालतले यसमा फैसला गर्दै सजाय निर्धारण गरेको हो । भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको दावी थियो ।
भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए । सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुस लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ ।