काठमाडौं । कोशी प्रदेशको बजेट शनिबार प्रदेश सभाबाट पारित भएको छ। सभामुख अम्बरबहादुर विष्टले कोशीको बजेट बहुमतले पारित भएको घोषणा गरेका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलका बहुसंख्यक सांसदहरूले आर्थिक वर्ष २०८१-८२ को बजेट असन्तुलित, विभेदकारी र प्राथमिकता भुलेर ल्याइएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए।
केही मन्त्री र सीमित नेताहरूको क्षेत्रमा बजेट र योजना खन्याइएको भन्दै सत्तारूढ सांसदहरूले प्रदेश सभामा कडा स्वरमा विरोध गरेका थिए।
तर, दलको सांसद हुनुको बाध्यताले आफूहरू लाचार बनेको उनीहरूले बताए। कोशी प्रदेशको बजेटप्रति मुख्यमन्त्री, मन्त्री र उनीहरूनिकट केही सांसदबाहेक अरू सबै असन्तुष्ट देखिएका थिए। दलले लगाउने ह्विपकै डरले अन्ततः कसैले मन नपराएको बजेट पारित भएको हो।