काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सहयोग गर्न आग्रह गरेपछि राजीनानमा बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू त्यत्तिकै फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसद्बाट विश्वासको मत लिने तयारी गरेकाले सहयोग गर्न उनीहरूलाई आग्रह गरेका थिए । त्यसपछि उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत लिने बेलासम्म सहयोग गर्ने भन्दै राजीनामा नदिइ फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
परियारले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भनेपछि सहयोग गर्ने निष्कर्षसहित चाँडै गर्न भनेर त्यत्तिकै फर्किएको बताए ।
मन्त्रीहरू राजीनामा दिने तयारीसाथ बालुवाटार पुगेका थिए । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले बुधबार साँझ सामूहिक राजीनामा दिएका थिए । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।