काठमाडौं । सिन्धुपाल्चोकको पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्क केन्द्रमा गत चौबिस घन्टामा १४१.८ मिलिमिटर वर्षा मापन भएको हो।
सिन्धुपाल्चोककै ढुंगेमा चौबिस घन्टाको अवधिमा १२०.८ मिलिमिटर वर्षा मापन भएको छ। घुमथाङमा ९३.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै लमजुङमा पनि धेरै भारी वर्षा भएको छ।
लमजुङको खुदी बजारमा पछिल्लो चौबिस घन्टाको अवधिमा १००.८ मिलिमिटर वर्षा मापन भएको छ भने बेशीसहरमा १०२.८ मिलिमिटर वर्षा मापन भएको छ।
चौबिस घन्टामा मुलुकका विभिन्न स्थानहरूमा भारी वर्षा मापन भएको छ। महाशाखाका अनुसार सिन्धुपाल्चोकको बोल्डेमा ७५.८ मिलिमिटर, नुवाकोटको ककनीमा ६८.४ मिलिमिटर, गोरखाको बारपाकमा ८४.८ मिलिमिटर, आरूघाटमा ७६.८ मिलिमिटर, मकवानपुरको चिसापानीगढीमा ६४.८ मिलिमिटर, दामनमा ५१ मिलिमिटर ललितपुरको लेलेमा ६०.२, काठमाडौंको बूढानीलकण्ठमा ५९.२ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
आइतबार पनि कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।