काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला परेको छ। गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो।
हराइरहेको बस खोज्न भारतीय टोली चितवन पुगेको थियो। उनीहरूले बस खोज्नका लागि १९ र १४ किलोका २ वटा चुम्बक ल्याएका थिए। जसमध्ये शनिवार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो। उक्त चुम्बक आइतवार काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ।
बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली आइतवार नै फर्किसकेका छन्।