काठमाडौं । नारायणी नदीकिनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । उनका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुन सक्छ । बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनकाे भनाइ छ । रातको समयमा बाघ सक्रिय हुने र जंगल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुन सक्ने अनुमान गरिएको छ । बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नर्कट घारीमा लुकेको थियो ।