काठमाडौं । चितवन सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन पेस गरेको छ । सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेकाे थियाे ।
सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकायले जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको छ । कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए । सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए ।
६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उनको भनाइ थियो । सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढी नै रहेकाे निष्कर्ष कार्यदलले निकालेको छ । प्रतिवेदन पेस गर्दै कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ/डिजाइनबिना नै ग्रामीण सडक खनिएको बताए ।
दुर्घटनामा परी नदीमा हराएका यात्रु मध्ये २४ जनाकाे शव फेला परे पनि ४० जनाको अवस्था अझै अज्ञात छ ।