काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, तल्लो चिप्ला गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गैरी गाउँमाथि धाँजा फाट्नुका साथै पहिरो बग्न थालेपछि गाउँका बासिन्दाले रातको समय घर छाडेका छन् ।
पहिरोका कारण गाउँका ४२ घरधुरीका १ सय ८२ जना नजिकै डाँडागाउँ, विद्यालय र त्रिपालमुनी बसिरहेका छन् ।
साउन १२ गते गाउँबाटमाथि १ सय मिटरको दुरीमा जमीन धाँजा फाट्नुका साथै पहिरो चल्न थालेपछि तल्लो चिप्लाका बासिन्दा डराएका हुन् ।
गाउँमा कोदो रोप्ने माचो चलिरहेको बेला उनीहरु दिनभर काम गर्ने र साँझ छिटो छिटो खाना पकाएर खाइवरी नजिकैको डाँडागाउँ, विद्यालय र त्रिपालमा बस्न जाने गरेका छन् ।
गाउँले बस्नको लागि गैरीगाउँबाट १५ मिनेट जतिको बाटो डाँडागाउँमुनी मकैबारी फाँडेर त्रिपाल लगाइएको छ । वडाअध्यक्ष घलेश्याम घलेले तल्लो चिप्लाको गैरीगाउँ पहिरोको चपेटामा परेको र गाउँका वासिन्दा डराएको बताए ।
गाउँलेका लागि तत्काल गाउँपालिकाले २५, जिल्ला प्रशासन कार्यालयले ४ र नेपाल रेडक्रस सोसाइटीले १० वटा त्रिपाल स्थानीयलाई दिएका छन् ।
पहिरोको अनुगमनपछि प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले गाउँ उच्च जोखिममा परेको र सुरुमा नागरिकको ज्यान बचाउन सुरक्षित स्थानतर्फ गाउँलाई व्यवस्थापन गरिएको बताए ।