काठमाडौं । काठमाडौं प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दरबारमार्ग र कमलादी जोड्ने सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन्।
महानगरपालिकाकै कार्यालय अगाडि परेको उक्त भ्वाङको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले भनेका छन्, ‘यो टुकुचामाथिको बाटो हो। अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन्। काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ। अदालती कारणले केहि रोकिन परेको थियो।’
अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको छ ।
‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ। यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ,’ उनले भनेका छन्। ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’
भिडियो