काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका–११ चिति तिवारीडाँडा बगैंचामा महिलाको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेसिशहर ११ बजारखुट्टा बस्ने ४७ वर्षीय सुक बहादुर सार्की रहेका छन् ।
६२ वर्षीया सान्नानी घर्तीको बुधबार शव भेटिएको थियो । हत्यामा संलग्न भएको आरोपमा सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीले पक्राउ परेका सार्कीलाई बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
सार्कीलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले उनको घर बजारखुट्टाबाट धारिलो हतियार हँसिया समेत बरामद गरेको छ । घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली लमजुङ झिकाइएको थियो ।
घरमा एक्लै बस्दै आएकी घर्तीलाई बुधबार बिहान काठमाडौं जाने भन्दै स्थानीय जीपलाई लमजुङको उदिपुरसम्म छोडिदिन आग्रह गरेकी थिइन् । जीप चालक बिहान उनलाई लिन आउँदा शव आँगनमा लडिरहेको अवस्थामा फेला परेको थियो ।