काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। जोशीलाई काठमाडौंबाट पक्राउ गरी आइतबार नै पोखरा लगिएको थियो।
उनीमाथि अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो। जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको थियो। उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन्।
सूर्य थापा नेतृत्वको सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको थियो। विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ। समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन्।