काठमाडौं । सोह्र श्राद्धमा आफ्ना दिवङ्गत आफन्तजनलाई पिण्ड दान गर्न तथा मुस्ताङ घुम्न जाने पर्यटकहरूको संख्या २० हजार भन्दा बढी रहेको छ।
सोह्र श्राद्ध सुरु भएको असोज दुई गतेदेखि श्राद्धको अन्तिम दिन असोज १६ गतेसम्म २० हजार चार सय ४६ जना मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ। भदौमा भएको वर्षा असोजसम्म नआउँदा बाटो सहज बनेको तथा सोह्र श्राद्ध समेत भएको बेलामा कागबेनी जाने सवारीहरूको चाप बढेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरिक्षक गणेश सुवेदीकाअनुसार भदौ महिनाभरमा मुस्ताङमा प्रवेश गरेका सवारीहरूको दैनिक औसत संख्या एक सय १३ रहेको थियो भने असोज दुई गतेपछिको तथ्याङ्कमा दैनिक औषत दुई सय ७० वटा सवारीहरू मुस्ताङ पुगेका छन्। असोज दुई बाट १६ सम्म दैनिक क्रमशः तीन सय ३८, दुई सय ७८, दुई सय ८१, दुई सय ३३, दुई सय ७३, दुई सय ६५, दुई सय ७३, दुई सय ८६, दुई सय ६२, एक सय ८२, एक सय ५४, एक सय ५८, छ सय ४९, दुई सय छ र दुई सय छ वटा सवारीहरू मुस्ताङ पुगेका हुन्।
उक्त अवधिमा आन्तरिकतर्फ नौ हजार दुई ६५ जना पुरुष र पाँच हजार पाँच सय ८५ जना महिला गरी १४ हजार आठ सय ५० जना, सार्क राष्ट्रबाट दुई हजार सात सात पुरुष र दुई हजार पाँच सय २९ महिला गरी पाँच हजार दुई सय ३६ जना र अन्य देशका दुई हजार नौ सय २४ पुरुष र दुई हजार छ सय ७२ महिला गरी पाँच हजार पाँच सय ९६ जना मुस्ताङ पुगेका सुवेदीले बताए।