काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका ११ चिति तिलाहरमा आयोजना गरिको निःशुल्क आँखा शिविरमा पहिलो दिन ३ सय २६ जनाको आँखा परीक्षण गरिएको छ ।
यस्तै पहिलो दिन २८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया गर्न बाँकी १५ जना र टिकट लिनु भएका ४ सय ७८ जनाको बुधबार र बिहीबार आँखा परीक्षणका साथै शल्यक्रिया गरिने वडा नं.११ का वडाध्यक्ष शिव प्रसाद जोशीले जानकारी दिएका छन् ।
मंगलबार १०३ वर्षीया राम कुमारी थापाको पनि सफल शल्यक्रिया गरिएको वडाअध्यक्ष जोशीले जानकारी दिए । शिविरको बेसिशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका थिए ।
बेसीशहर नगरपालिकाको आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा यही कात्तिक ६ गतेदेखि ८ गतेसम्म शिविर सञ्चालन गरिएको हो ।
दूरदराजमा रहेका आँखाका बिरामीलाई गाउँमै विशेषज्ञसहितको सेवा उपलब्ध गराउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो ।
शिविरमा नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर किरण शाक्य, नेत्र सहायक याङ्ला दोङला शेर्पा, भाग्य नारायण शाह, रुमित श्रेष्ठलगायतको प्राविधिक टोलीले सेवा दिएका छन् ।