काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश द्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कात्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधबार एकै दिन गर्ने गरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो ।
उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकै दिन सम्पन्न गर्ने गरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्य योजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए । बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छन् । समितिको अर्को बैठक आगामी कात्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।