काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग तेस्रो दिनको बयान सुरु भएको छ। उनलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि मंगलबार कास्कीबाट रुपन्देही ल्याइएको थियो।
लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिएको थियो । हिजो अधुरो रहेका विषयहरूमा आज बयान सुरु भएको हो। बाँकी रहेको बयान आज सकिने जिल्ला सरकार वकिलको कार्यालय रुपन्देहीले जनाएको छ।
दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन्। उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।