काठमाडौं । सरकारले ९ गतेदेखि सञ्चालनमा आउने धरहरा चढ्न शुल्क तोकेको छ। धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ। सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ।
साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यवसायिक बाहेकका प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यवसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा ५ हजार, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको छ। यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ।
चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ। यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो। अब पर्सिदेखि भने धरहरामा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको हो।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ। १० वर्ष मुनिका बालबालिका शुल्न नलाग्ने भएको छ।