काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन्। चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए।
ओलीले भने, ‘ऋणको विषयमा कुनै छलफल भएन। अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ। ऋणको कुरा चलेकै छैन। किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन।’
प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नलाई प्रधानमन्त्रीले खण्डन गरे। उनले भने, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन। भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन।’
प्रधानमन्त्रीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ ? भनेर पनि सोधिएको थियो। उनले जवाफ दिए, ‘अब एरेन्ज गर्नुपर्छ। फर्केकै दिन कसरी भन्ने।’