काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह शपथ ग्रहणलगत्तै पक्राउ परेका छन् । शपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका वडाध्यक्ष साहलाई प्रहरीले पक्राउ गरेको छ ।
३ वर्षअघि स्थानीय १९ वर्षीया युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा साहको समेत संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेका थिए । साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट निर्वाचित भएका हुन् । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले नवनिर्वाचित वडाध्यक्ष साहउपर अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।
प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादीविरुद्ध २०७९ साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेको उजुरी परेको छ ।
साह सहितविरुद्ध २०७९ साउन १९ गते पीडित परिवारद्वारा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसयता साह फरार भएका थिए । विक्रम संवत् २०८० जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो ।
गत साउन १४ गते पनि ईलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भएको र गत साउन १५ गते साह सहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आकलन गर्दै साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । विक्रम संवत् २०७९ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका प्रितमलाल चौधरीको निधन भएपछि उपनिर्वाचन भएको छ ।