काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गरेको छ । व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले गरेको रिट सर्वोच्चले खारेज गरेको हो ।
सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो । एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए ।
सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए । अब एमालेले भवन बनाउन पाउने भएको छ ।