काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागेको बताएका छन्। ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउन लागिपरेको बताएका हुन्। उनले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारवाही गरिने बताए।
‘देशको अवस्था सुधार गर्नुछ। भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरूको मुख हेरेर होइन, काम हेरेर, अपराध हेरेर कारबाही हुन्छ,’उनले भने।
प्रधानमन्त्री ओलीले उनले व्यवस्थासँगै अवस्था पनि बदलिएको बताए। प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
व्यवस्था बदलियो,अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठूला उद्योगहरु सञ्चालनमा आएको बताए।
‘देशको अवस्था,जनताको अवस्था हिजोकोजस्तो छैन। व्यवस्थासँगै अवस्था पनि बदलिएको छ। हिजो गरिबी ४२ प्रतिशत मुनि थियो। थोरै होटल थिए। तर अहिले आयस्रोत बढेको छ। देशको अवस्था,जनताको अवस्था हिजोको जस्तो छैन।अर्थतन्त्रको आकार बढेको छ। देशको संचिति बढेको छ,’उनले भने,’अवस्थामा परिवर्तन आएन भन्ने होइन। थुप्रै उद्योगधन्दा सञ्चालनमा आएका छन्। थुप्रै मानिसले रोजगारी पाएका छन्। मानिसको सरदर आयु ४२ वर्ष थियो। ४२ बाट ४९ मा आयो। अहिले ७२ वर्ष आएको छ। ‘