काठमाडौं । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा नेपाल पत्रकार मञ्चको सदस्य रहेर निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मान गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल पत्रकार मञ्चले मञ्चमा आबद्ध भइ महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान एवं बधाई ज्ञापन गरिएको हो ।
सम्मानित हुनेमा महासंघको केन्द्रीय सदस्यमा निर्वाचित मनुका कुँवर, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा निर्वाचित रोयल आचार्य, कोषाध्यक्षमा निर्विरोध निर्वाचित राजेन्द्र प्रजापति र सदस्यहरुमा निर्वाचित सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, धिरेन्द्र तिवारी, रौशन चौधरी, नबिन नर्सिंह नेपाली र सरोज बस्याल रहेका छन् ।
कार्यक्रममा विश्व हिन्दू महासंघको हालै जनकपुरमा सम्पन्न महासम्मेलनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित मञ्चकी सदस्य अस्मिता भण्डारी र राष्ट्रिय फोटो पत्रकार समूहको महासचिवमा निर्वाचित मञ्चका सदस्य घनश्याम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुवाई मञ्चका अध्यक्ष युवराज बिद्रोहीद्वारा सम्मान पत्र प्रदान गरेर, मञ्चका पूर्व अध्यक्ष योगेन्द्र प्रताप शाहीद्वारा खादा लगाइदिएर र मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठदरा माला पहिर्याएर सम्मान गरिएको थियो ।
कार्यक्रममा मञ्चका अध्यक्ष युवराज विद्रोहीले निर्वाचित सदस्यहरुले हरेक व्यक्तिको लागि न्याय गर्नुपर्नेमा जोड दिए । हरेक सदस्यहरुले पत्रकारको हकहितका लागि राम्रो काम गर्दै जानुपर्ने उनको भनाइ थियो ।
मञ्चका महासचिव बिमल थापाले संचालन गरेको कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराईले धन्यवाद ज्ञापन गर्दै महासंघमा निर्वाचितहरुमा जिम्मेवारीसँगै चुनौती र अवसर समेत प्राप्त भएको बताए ।
अग्रज पत्रकार अस्मिता भण्डारीले व्याप्त लैङ्गिक हिंसा, असमानताहरुलाई चिर्दै अगाडि बढ्नका लागि पत्रकारहरुको कलम सधैं बलियो रहनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्यले धेरै चुनौतीहरु सामना गर्न अघि बढेको बताए ।