काठमाडौं । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या मिलाउन सहजीकरण समिति गठन गरेको छ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको हो ।
यसबीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको संयोजनमा दुवै पक्षलाई संवाद र सहमतिको विन्दुमा ल्याउन भएका पहल र समाधानको विकल्पका विविध पक्षबारे आजको बैठकमा छलफल भएको थियो ।
आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी विश्वविद्यालयले एकपक्षीयरुपमा निर्णयहरु गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।
विश्वविद्यालयको पछिल्लो दीक्षान्तको ग्रेस लिष्टमा अनुत्तिर्ण सात विद्यार्थीको नाम समावेश भएको पाइएकाले आजको बैठकले ग्रेस लिष्ट सच्याइउने निर्णय गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेले ती विद्यार्थीको नाम कसरी सूचीमा पर्न गयो भन्नेबारेमा छानबिन सुरु भएको र ती विद्यार्थीले प्रमाणपत्र नलिएको बैठकलाई जानकारी गराए।