काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए । उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् ।
‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘८३ साल होला’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने, ‘मैले ०८७ सालमै भनेको ।’
बैठकमा सहभागी एक नेताका अनुसार संसद्को समीकरणका कारण संविधान संशोधन ०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान थियो । गत असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो । त्यसमा संविधान संशोधनलगायत विषय पनि छन्। संविधान संशोधन गर्न कांग्रेस(एमालेले कार्यदल तयारी गरिरहेका छन् भने विभिन्न दलहरूले यसबारे सुझाव दिन समिति पनि गठन गरिसकेको छ ।