काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दाका लागि उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका हुन्। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दा पनि उनीमाथि लागेको छ।
बिहीबार कास्की जिल्ला अदालतको आदेशबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो।
अदालतको आदेशानुसार रू ६५ लाख धरौटीवापतको बैंक ग्यारेन्टी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए।