काठमाडौं । संसद्का ६ वटा विपक्षी दलले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेका छन्। बुधबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेताहरुले सरकारले संसद् अधिवेशन छलेर अध्यादेश ल्याउने निर्णय गरेकोप्रति विरोध जनाएका हुन्।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक अध्यक्ष डीपी अर्याल, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महीन्द्र यादव तथा आम जनता पार्टीबाट अध्यक्ष प्रभु साहलगायत सहभागी थिए।
बैठकपछि माओवादी नेता पुनले सरकार स्वेच्छारी बन्दै गएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए। ‘सरकारले संसद्लाई छल्न खोजेको छ। हिँउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याउने काम सरकारले गरको छ,’ पुनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो।’
उनले जनताका साझा सरोकारका विषय र कानुन निर्माणको लागि तुरुन्तै हिउँदै अधिवेशन बोलाउनुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।
‘सरकारले संसद्लाई छलेर चारवटा अध्यादेश जारी गरेको छ। अर्को अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ,’ उनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो। यस्तो प्रवृत्तिलाई छाडेर सरकारले नियमित हिउँदै अधिवेशन बोलाउनु पर्छ। कानुन निर्माण, जनताका समस्याका विषय त्यहाँ छलफल हुन्छन्।’

