जनक श्रेष्ठ
लमजुङ । लमजुङका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सामाजिक विकास कार्यालय लमजुङद्धारा सञ्चालित एक महिने ड्राइभिङ तालिम (स्कुटर) सम्पन्न भएको छ । बेसिशहर नगरपालिका वडा नं. ८ स्थित दनाईफाँटमा रहेको एक ड्राइभिङ सेन्टरमा यस कार्यालयले १८ वर्षमाथि ४० वर्षसम्मका १२ जना युवाहरुलाई प्रदान गरिएको सो तालिम सम्पन्न भएको हो ।
बेसीशहर नगरपालिका ८ स्थित सामाजिक कार्यालयमा शुक्रबार ड्राइभिङ तालिमको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङले युवाहरुलाई यस्ता सीपमुलक तालिमले रोजगारमा लाग्न र आत्मनिर्भर बन्न अवसर प्रदान हुने बताइन् ।
अहिलेको अवस्थामा सिप विना कुनै पनि काम गर्न कठिन हुने भएकाले यस्ता सीपले रोजगार बन्नको लागि ढोका खोल्न मदत पुग्ने बताउँदै उपप्रमुख गुरुङले तालिममा सिकेको सीपलाई सदुपयोग गर्दै व्यवहारमा लागु गर्न जोड दिइन् ।
त्यस्तै उनले महिलाहरु विगतमा हरेक हिसावले पछी परेपनि यतिबेला महिला, अल्पसङ्ख्यक लगायतलाई राज्यले धेरै अधिकार दिएको र यसको लागि महिलाहरु स्वयं पनि अग्रसर हुन आग्रह गरिन् ।
सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस तालिम सञ्चालन गरिएको बताइन् । सीप सिकेर दक्ष बन्दै स्वरोजगार बनाउँने लक्ष्यका साथ यस तालिम सञ्चालन गरिएको उनको भनाई छ । तालिममा सहभागहरुले कम समयको भएकाले यस तालिमले केही सिकेपनी पर्याप्त नभएको बताएका थिए। यस कार्यालयले यस बाहेक यसअघि ४० जना महिलाहरुलाई लोकसेवा तयारी कक्षा सम्बन्धी तालिम समेत प्रदान गरिसकेको छ । त्यस्तै, १० जनालाई व्यसिक ब्यूटि पार्लर तालिम सञ्चालन गरिरहेको छ ।