काठमाडौं । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।
२००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका छन् ।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।
प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि शहीद स्मारक लैनचौर पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को २०६४ साल जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेग गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा कार्यक्रमको तयारी भएको छ ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिएको छ ।