काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्।
माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए।‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं,’ अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं।’
पार्टीले के-के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए। ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं। हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ। ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ। म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ।’
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए। आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उनले स्पष्ट गरे।