काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । माघ २७, २८ र २९ गते चलेको महाधिवेशनबाट उक्त प्रस्ताव पारित गरिएको हो ।
वृहत् शान्ति सम्झौता पछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरू बिच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशिध्र सम्पन्न गर्न नयाँ शक्तिले माग गरेको छ ।
यस्तै चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको निष्कर्ष निकाल्दै सो कार्यको भर्त्सना गरिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘यी मागहरूको परिपूर्तिका लागि आन्दोलनको रूपमा सशक्त रूपमा राष्ट्रिय अभियान सञ्चालन गर्न सम्बद्ध सबै पक्षहरूसँग यो महाधिवेशन अपिल गर्दछ । साथै प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुन सक्ने स्थितिप्रति सजग रहँदै यो महाधिवेशन सम्पूर्ण अग्रगामी लोकतान्त्रिक, समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गर्दछ ।’