काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको बाटो हिँडेर केही हत्याउँछु भन्ने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकलाई आज आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई राजनीतिमा आउन चुनौति दिए।
शाहको सन्देश सुनेर आफू छक्क परेको बताउँदै प्रधानमन्त्रीले भने, ‘संविधानको कुरा गर्नु हुन्न उहाँले। कानुनको पनि कुरा गर्नुहुन्न। लोकतन्त्रको पनि कुरा गर्नु हुन्न। प्रणालीको कुरा गर्नु हुन्न, प्रकृयाको कुरा गर्नुहुन्न। मलाई साथ दिनोस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ ?’
प्रजातन्त्र दिवसलाई मध्यनजर गर्दै ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गरेर आफूलाई साथ दिन नागरिकलाई आह्वान गरेका थिए। प्रधानमन्त्री ओलीले पूर्वराजा पक्षधरबाट प्रेरित अराजक क्रियाकलापहरुले देश अफ्ठेरोमा परिरहेको बताए। उनले संविधान, कानुन र लोकतान्त्रिक विधिलाई स्विकार गरेर राजनीतिमा आउन शाहलाई चुनौति दिए।
‘एउटा पूर्वराजाको हैसियतले उहाँले पुस्तौँ सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा, के चुनावमा भोट माग्या कि के मागेको ? मलाइ साथ देउ म आउँछु– कहाँ आउने ?’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा आउनुहुन्छ भने आउनोस् स्वागत छ। उम्मेदवार बनेर साथ माग्न मजाले पाइन्छ। तर केमा साथ माग्नुभयो बुझिएन। अहिले बुझिएन मात्र भन्छु।’