काठमाडौं । संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउनका लागि फेरि सिफारिस समिति गठन गर्न प्रमुख दलका तीन शीर्ष नेताहरू सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति भएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले पनि सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन सहमति भएको जानकारी दिए ।
‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श भयो । सोहीअनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो,’ खरेलले भने ।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन । उक्त समितिको म्याद सकिएपछि संक्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध बनेको थियो ।