काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति,बहुभाषा,परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्।
आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना,जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए ।
देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत,परिश्रम र चिनोको रुपमा रहेका कैयन सम्पदाको संरक्षण साझा दायित्व भएको उनले बताए । उनले नेपालमा प्राकृतिक,धार्मिक, सांस्कृतिक,ऐतिहासिक एवम् प्रकृतिको वरदानका रुपमा कैयौं रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए ।
राष्ट्रपति पौडेलले स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य समेत रहेको मुलुकको सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जिर्णोद्वार चुनौतिपूर्ण कार्य हुँदाहुँदै देगुतलेजु मन्दिर पुननिर्माणले पाएको सार्थकताले पाटनको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे।