काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् ।
२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलनको २१ औँ दिन मंगलवार काठमाडौंको विजुलीबजारमा अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए ।
उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे ।