काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा बुधबार काठमाण्डुमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाए । उनले विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए ।
नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५/४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए । आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्साका रूपमा लिइएको बताउँदै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको पनि बताए ।