काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग संवाद भएको छ। प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगतदेखिको बानीकै कारण करुणा जन्मिएको बताइन्।
‘म धेरै पहिलेदेखि नै आफूले देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें,’ शाक्यले भनिन्, ‘ति टिपोटहरूलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो। यसमा मेरा अनुभूतिहरु समेटिएका छन्।’
शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताए। उनले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानै देखिको बानीका कारण किताब लेख्नतिर मन गएको उनको भनाइ छ।
पुस्तक संवादका क्रममा सम्पादकहरूले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए। शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भने, ‘म राजनीतिमा आउँदिन। तपाईंहरू ढुक्क हुनुहोस्। मेरो उमेर छँँदा त पूर्णकालीन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन।’