काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार उक्त रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।
लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा परेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । हाल लामिछाने रुपन्देही कारागारमा छन् ।