काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन: निर्वाचित भएका छन् । सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै उनी दोस्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत पाउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।
पुरी यसअघि महासचिव थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो ।
महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।