काठमाडौं । सत्तारुढ दलको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला सहभागी बैठकले गृहमन्त्री लेखकले राजीनाका दिन नपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिन निर्णय भएको एमाले प्रमुख सचेतक बर्तौलाले बताए । बर्तौलाका अनुसार गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन भन्ने कुरामा देउवा–ओली कन्भिन्स भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने बर्तौलाले बताए ।
‘उठेका विषय वस्तुका बारेमा गृहमन्त्रीले प्रष्ट पार्नेगरी संसद्मा सम्बोधन गर्ने पनि उनले बताए । उनले भने, ‘गृहमन्त्रीले राजीनामा दिने कुरै छैन् । उहाँले सदनमा बोल्नुहुन्छ । आजको बैठकको निष्कर्ष यही हो ।’
यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए ।
उता, संसद् भवन नयाँ बानेश्वरमा भने विपक्षीहरुको बैठक जारी छ । बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरु छलफलमा बस्दा सदनमा भने विपक्षीहरु रणनीति बनाउन व्यस्त छन् । भिजिट भिसा प्रकरणले सदन अवरोध छ । विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् ।