काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आज सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले सुरुमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए । उनले जबरजस्ती बैठक सञ्चालन नगर्न सभामुख घिमिरेलाई आग्रह गरेका थिए । बैठक सञ्चालन गरे बहिष्कार गर्ने र बहिष्कार गरेको दिनको बैठक भत्ता नलिने जानकारी उनले गराएका थिए । सभामुख घिमिरेले त्यसपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियालाई बोल्न समय दिएका थिए । उनले बोल्दै गर्दा समय सकिएको भन्दै लाइन काटिएको थियो ।
त्यसपछि सभामुख घिमिरेले संसद् सञ्चालन गरेका थिए । संसद सञ्चालन लगत्तै राप्रपा र रास्वपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर रोष्ट्रम अगाडि आएका थिए । राप्रपा सांसदले भने बैठक बहिष्कार गरेका छन् ।