काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित भएका परिवारका प्रतिनिधिहरूले जग्गा सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विस्थापित परिवारतर्फबाट ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै ४८ वर्षअघि आरक्ष विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको सट्टामा जग्गा उपलब्ध गराउने विषयमा राज्यसँग भएको भद्र सहमति स्मरण गराएका हुन्।
विस्थापित समस्यासम्बन्धी समाधानका लागि सरकारले गठन गरेको अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सिफारिस गरेको प्रतिवेदनको कार्यान्वयन माग गर्दै प्रतिनिधिमण्डल प्रधानमन्त्री भेट्न पुगेको हो। आयोगले मोरङको लेटाङ नगरपालिकामा सट्टापट्टाका लागि छुट भएका ७५ परिवारलाई जग्गा उपलब्ध गराउन सुझाव दिएको थियो।
प्रतिनिधिमण्डलमा सहभागी आयोगका तत्कालीन सदस्य मनोहरनारायण श्रेष्ठका अनुसार सर्वोच्च अदालतको २०४६ साल वैशाख ५ गतेको फैसलाले पनि पीडित परिवारलाई सट्टा जग्गा दिनुपर्ने आदेश दिएको स्मरण गराइएको थियो।
ज्ञापनपत्र बुझेसँगै प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई सो विषयको अध्ययन गरी १५ दिनभित्र विस्थापितहरूलाई उचित जवाफ दिन निर्देशन दिएका छन्।