काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध सार्वजनिक टिप्पणी गरेकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले बुधबार झाँक्रीलाई तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको हो।
केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै “अब सिनो बोकेर हिँड्न सकिन्न” भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको आवश्यकता रहेको अभिव्यक्ति दिएकी थिइन्।
उनको अभिव्यक्तिपछि पार्टीभित्र तीव्र प्रतिक्रिया आएको थियो। पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै नेताहरूलाई सार्वजनिक रूपमा पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन निर्देशनसमेत दिएको थियो।
तर झाँक्रीले सार्वजनिक मंचमा पुनः कडा टिप्पणी गरेपछि पार्टी अनुशासन आयोगले औपचारिक रूपमा उनलाई स्पष्टीकरण सोधेको हो।
पार्टी स्रोतका अनुसार झाँक्रीको अभिव्यक्तिले पार्टीको अनुशासन, एकता र नेतृत्वको गरिमामाथि असर पार्ने भएकाले कारबाही प्रक्रिया सुरु गरिएको हो।
अब झाँक्रीले दिने जवाफपछि पार्टीले थप निर्णय गर्ने जनाइएको छ। उक्त घटनाले एकीकृत समाजवादीभित्रको आन्तरिक असन्तोष थप सतहमा आएको स्पष्ट देखिएको छ।