काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नदेखिएको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी र निजी क्षेत्रका कर्मचारीबीच व्यवहारिक फरक रहेको बताएका हुन् ।
“सरकारी काममा मानिसहरू यसैपनि भनेजस्तो समर्पित भएर काम नगर्ने देखिन्छ,” मन्त्री पाण्डेले भने, “निजी क्षेत्रले कम जनशक्तिमा पनि राम्रो काम गरिरहेको छ । यो सुशासन सुधार गर्नुपर्ने विषय हो ।”
बैठकमा सांसदहरूले निजी एयरलाइन्सले कम जनशक्तिमा पनि नाफामा काम गरिरहेको उल्लेख गर्दै, नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि नाफामा जान नसकेको विषयमा प्रश्न उठाएका थिए ।
जवाफमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको काम पनि गरिरहेकोले त्यसमा बढी जनशक्ति लाग्ने बताएका छन् ।
“नेपाल एयरलाइन्सले आफ्ना मात्र होइन, हिमालयन एयरलाइन्स लगायतका अरु एयरलाइन्सका लागि पनि ग्राउण्ड ह्याण्डलिङको काम गर्छ,” उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ९५ लाख यात्रु आवतजावत गर्छन्, जुन व्यवस्थापन गर्न धेरै जनशक्ति आवश्यक पर्छ ।”
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको कर्मचारी सेवा, शर्त सम्बन्धी विनियमावली निर्माणको प्रक्रिया भइरहेको जानकारी पनि दिए ।
उनले आवश्यकता भन्दा बढी जनशक्ति नराखी नेपाल एयरलाइन्सलाई थप आर्थिक भार नपार्ने गरी सरकार गृहकार्य गरिरहेको बताए ।