काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणलाई लिएर फैलाइएको झूठा प्रचारप्रति कडा आपत्ति जनाएका छन्। आइतबार दमक नगरपालिकाको मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन समारोहमा बोल्दै ओलीले भ्रमणको सफलता बदनाम गर्न षड्यन्त्र भइरहेको बताए।
“म स्पेन गएको थिएँ, हाम्रो भूमिका अत्यन्तै राम्रो भयो। त्यो सहन नसकेर विपक्षी र केही अराजकतावादीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात आरोप लगाइरहेका छन्,” ओलीले भने।
उनले यस्ता आरोपहरू प्रमाणविना र नियोजित रूपमा गरिएको बताए। “जहिले पनि झूट बोलेको छ, झूट बालेको छ। कति दिन टिक्छ यस्ता कुरा? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु,” ओलीको चेतावनी थियो।
उक्त कार्यक्रममा ओलीले आफ्नो सरकार विकास निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै,”यो सडक पनि देशभर विकासका लहर ल्याउने क्रममा गरिएको काम हो,” भन्दै दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा पनि गरे।
उनले मेचीदेखि महाकालीसम्म थालिएका कामहरू सक्ने अभियानमा आफूहरू अघि बढेको बताए। एमाले नेतृत्वको सरकारका विकास योजनालाई तीव्र बनाउने संकेत उनले दिएका छन्।