काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रालयको नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन्। घुस डिलमा मुछिएर गुप्ताले मंगलबार राजीनामा दिएसँगै मन्त्रालय नेतृत्व रिक्त भएको छ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे आफ्ना सल्लाहकार र पार्टी नेतृत्वसँगको छलफलपछि नयाँ मन्त्रीको नाम सार्वजनिक गर्ने तयारी गरेका छन्। ओलीले नयाँ मन्त्री नियुक्तिका लागि पार्टीका उपमहासचिव तथा आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग एक चरण छलफल गरिसकेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयलाई लामो समयसम्म खाली राख्न नहुने निष्कर्षसहित तत्काल नियुक्तिको तयारी गरिएको हो। साँझभित्रै टिम बैठक बसेर नयाँ अनुहारको टुंगो लगाइने बताइएको छ।