काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पाउने जिम्मेवारी पार्टीको केन्द्रीय कमिटीले तय गर्ने स्पष्ट पारेकी छन्। मंगलबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आगामी विधान महाधिवेशनमा आफ्नो सहभागिता पनि कमिटीको निर्णयमा निर्भर हुने बताइन्।
“मेरो उपस्थितिको विषय केन्द्रीय कमिटीले कुन रूपमा लैजान्छ भन्ने हो,” भण्डारीले भनिन्, “मलाई प्रतिनिधिका रूपमा लैजानुहुन्छ कि होइन, त्यो केन्द्रीय कमिटीको निर्णय हो।”
उनले पार्टीभित्र आफूले पाउने जिम्मेवारीबारे केन्द्रीय कमिटीमा छलफल हुने अपेक्षा समेत राखिन्। “पक्कै पनि मेरो विषयमा धारणा बनेर निर्णय हुन्छ होला,” उनले थपिन्।
यसै क्रममा उनले आफ्ना पति मदन भण्डारीको रहस्यमय मृत्युलाई अझै पनि समाजले स्पष्ट रूपमा नबुझेको उल्लेख गर्दै यसबारे उठ्ने अनुत्तरित प्रश्नहरूको पनि स्मरण गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहँदा भएको संसद विघटनबारे पनि प्रष्ट पारिन्। “२०१७ र २०५१ सालमा पनि संसद विघटन भएका थिए। म राष्ट्रपति हुँदा पनि संसद विघटन भयो। तर त्यो निर्णय मन्त्रिपरिषद्को सिफारिसअनुसार कार्यान्वयन मात्रै गरेकी हुँ,” भण्डारीले भनिन्, “यद्यपि त्यो विषय छलफल योग्य अवश्य छ।”
उनको यो अभिव्यक्ति नेकपा एमालेभित्रको भूमिकाबारे चर्चामा रहेकै बेला आएको हो। पार्टीले उनलाई भावी भूमिकामा कसरी समेट्ने भन्नेबारे औपचारिक निर्णय आगामी बैठकहरूमा हुने अपेक्षा गरिएको छ।