काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु र वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, पुँजी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले वि.सं. २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको जानकारी दिए।
उनका अनुसार कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता क्षेत्रहरूमा सरकारी तथा निजी लगानी बढ्दै गएकाले त्यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रूपमा पुनर्संरचना गर्ने योजना रहेको बताए। उक्त कार्यक्रमलाई थप सीपमूलक र रोजगारमूलक बनाउने नीति अवलम्बन गरिएको उनको भनाइ थियो।
कोशी र मधेश प्रदेशका २० पालिकामा वैदेशिक रोजगारबाट फर्किएकालाई लक्षित गर्दै ‘रेमी परियोजना’ अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए। त्यससँगै नयाँ पुस्तालाई लक्षित गरी स्टार्टअप र नवप्रवर्तन कार्यक्रम सञ्चालन भइरहेको बताए।
भ्रष्टाचारसम्बन्धी प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ” भन्ने आफ्नो अठोट दोहोर्याउँदै तथ्यका आधारमा आएका गम्भीर घटनामा सहन नहुने चेतावनी दिए। उनले मात्रै आरोपको आधारमा भने कारबाही गर्न नसकिने स्पष्ट पारे।