काठमाडौं । अबदेखि देशभरका सबै संघीय अस्पतालमा सेवा वापतको भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल र प्रतिष्ठानहरूलाई अनलाइन तथा क्यूआरमार्फत भुक्तानी प्रणाली लागू गर्न निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अघि सारेको ९ बुँदे सुधार योजनाअन्तर्गत अस्पतालमा हुने भीड व्यवस्थापन र सेवा प्रक्रियालाई प्रभावकारी बनाउन यो निर्णय लिइएको हो। मन्त्री पौडेलले नागरिकले अस्पतालमा सेवा लिन सहज होस् भन्ने उद्देश्यले टिकट र भुक्तानी प्रक्रिया डिजिटल गर्न निर्देशन दिएका थिए।
मन्त्रीको सचिवालयका अनुसार, डिजिटल भुक्तानी प्रणाली सुरु गर्ने निर्णय ९ बुँदे सुधार योजनाको एक महत्वपूर्ण अंश हो। अबदेखि बिरामी तथा सेवाग्राहीले अस्पतालको बिल अनलाइन भुक्तानी गर्न सक्नेछन्।
मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले डिजिटल प्रणालीको कार्यान्वयनका लागि पत्राचारसँगै अनुगमन प्रक्रिया पनि अघि बढाउने तयारी गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूबाट प्राप्त प्रतिबद्धताअनुसार अब अनुगमनमा कडाइ गरिने बताएका छन्। उनले भीड व्यवस्थापन, सेवा सहजता र पारदर्शिता सुनिश्चित गर्न डिजिटल प्रणालीले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
यो प्रणाली लागू भएपछि सरकारी अस्पतालमा सेवा लिने प्रक्रियामा पारदर्शिता, सहजीकरण र समयको बचत हुने अपेक्षा गरिएको छ।