काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका नौ राजनीतिक दलले निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ अस्वीकार गर्ने निर्णय गरेका छन्।
बुधबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनीहरूले कार्यविधि संविधान र कानुन विपरीत भएको भन्दै मान्न नसकिने निर्णय गरेका हुन्।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आयोगले तयार पारेको कार्यविधि नयाँ ऐनसरह रहेको बताउँदै ऐन बनाउने अधिकार संसदमा मात्र भएको स्पष्ट पारे। उनका अनुसार बिहीबार दलहरू आयोगमा गएर आफ्नो धारणा राख्ने तयारीमा छन्।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कार्यविधि संविधान, ऐन र कानुन विपरीत भएको भन्दै दलहरूबीच साझा धारणा आवश्यक रहेको बताए।
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कार्यविधि हालको राजनीतिक दलसम्बन्धी ऐनसँग मेल नखाने बताउँदै, यसबाट प्रस्तावित समिति तथा अधिकार संविधानविपरीत रहेको टिप्पणी गरे।
माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेले निर्वाचन आयोगमार्फत साना दलहरूलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए। जनमत पार्टीका अध्यक्ष सीके राउतले आयोगले साना दलहरूप्रति विभेदपूर्ण व्यवहार गरेको र अभिलेख अद्यावधिक नगरेको गुनासो गरे।
निर्वाचन आयोगले प्रस्ताव गरेको कार्यविधिमा दलहरूले हरेक वर्ष स्वमूल्यांकन गर्नुपर्ने र त्यसको विवरण आयोगलाई पेस गर्नुपर्ने व्यवस्था रहेको छ। आयोगले साउन २२ गतेभित्र सुझाव पठाउन समयसीमा तोकेको छ।
तर साना तथा मध्यम दलहरूले यो प्रक्रिया आयोगको अधिकार क्षेत्रभन्दा बाहिरको भएको भन्दै त्यसको विरोध जनाएका छन्।