काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयमा आयोजित उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनको अन्तिम दिन आज (साउन २२) प्रधानमन्त्री ओलीले उक्त सत्रलाई सम्बोधन गरेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकहरूलाई विश्वव्यापी व्यापार तथा आर्थिक साझेदारीमा जोडिनका लागि दिगो पूर्वाधार निर्माण, क्षेत्रीय सम्पर्क सञ्जालको विस्तार, र पारवहन प्रणालीमा सहजीकरण अपरिहार्य भएको बताए।
उनले नेपालजस्तो भूपरिवेष्टित देशका लागि पारवहन सहुलियत, भौतिक पूर्वाधारमा लगानी र पारस्परिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय समुदायको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।
सम्मेलनमा विभिन्न भूपरिवेष्टित मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।